प्रधानमन्त्री पथमा पौडेल

पार्टीभित्र बढेको विवाद साम्य बनाउंदै आश्चर्यजनक रुपमा कांग्रेसको तर्फवाट प्रधानमन्त्रीको उम्मेदवार बन्न सफल भएका छन् रामचन्द्र पौडेल। कुलबहादुर गुरुगंलाई गोविन्दराज जोशि समुहले च्याखे थापेका मात्र थिए। कुनै हालतमा पनि पौडेललाई प्रधानमन्त्री बन्न नदिन पूजापाठ अनी आफु निकटका नेताहरुसंग निरन्तर छलफलमा रहेका शेरबहादुर देउवाले पौडेललाई नै समर्थन गरेर अचम्मै गरे। शनिवार बसेको पार्टीको केन्द्रिय समितिको बैठकमा प्रधानमन्त्रीको उम्मेदवारको विषयमा चर्काचर्की हुने सबैको पूर्वानुमानलाई गलत प्रमाणित गर्दै पौडेललाई प्रधानमन्त्री बनाउने प्रस्तावक देउवा बनेछन् अनी समर्थक गुरुगं। सायद आजैवाट बोहोराटारको बंगालोमा बसेर पौडेल सिंहदरवारमा रहेको प्रधानमन्त्रीको तातोकुर्सीमा हल्लीरहेको सपनामा मग्न भईसके होला।

पौडेल उम्मेदवारीका तीन अनुमान

आखिर किन देउवा एकाएक व्याक भए अनी कसरी गुरुगं समर्थक बने? कांग्रेसी राजनीतिलाई नजिकवाट नियाल्नेहरु देउवा र गुरुगंको निर्णयवाट अचम्मीत देखिएका छन्। संसदिय दलको नेतामा पौडेलसंग पराजीत भएपछि राष्ट्रिय राजनीतिमा देउवाको प्रभाव कमजोर बन्दै गएको अवस्थामा उनले सहज रुपमा कसरी उनैलाई प्रधानमन्त्री स्विकार गरे होलान?

पहिलो लामो समयदेखी नेपालका प्रधानमन्त्रीको चयनमा प्रमुख भुमिका खेल्दै आएको भारतको करामत हुनसक्छ पौडेलको सर्वसम्मतीमा। देउवाको तुलनामा पौडेल भारतियपक्षरका रुपमा परिचित नेता हुन। देउवालाई अमेरिकी लविगंका नेताका रुपमा हेरिन्छ। त्यसैले लैनचौर निवासी भारतिय अक्टोपसले देउवाको साटो पौडेलको चयन गर्नु कुनै आश्चर्यको विषय रहेन।

भारतिय राजदुत राकेश सुदको सक्रियता पनि देउवा भन्दा पौडेलतिरै देखिएको थियो। शुक्रवार बेलुका देउवा र सुदविच गोप्य भेटघाट भएको समाचार सार्वजनिक भईसकेको अवस्थामा पक्कै आजको नतिजा हिजोको भेटकै प्रभाव पनि हुनसक्छ। भारतले देउवालाई अहिले प्रधानमन्त्रीको दावा नगरे पार्टीको १२ औं महाधिवेशनमा पार्टी सभापतिमा सहयोग गर्ने वचन दिएर फकाएको पनि हुनसक्छ।

दोस्रो अहिलेको अवस्थामा कांग्रेसलाई अन्य दलले समर्थन नगर्ने पक्का भएपछि देउवाले आफुलाई प्रधानमन्त्रीको दौडवाट अलग गरेर पौडेललाई अगाडि सारेको पनि हुनसक्छ। माओवादी कुनै हालतमा कांग्रेसको नेतृत्वमा सरकार गठन हुन नदिने बरु एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने पक्षमा रहेको र खनालपक्ष समेत एमालेमा बलियो बन्दै गएको अवस्था, मधेसवादी दल र साना दलको विभाजनका कारण कांग्रेसको उम्मेदवारको पक्षमा बहुमत नजुट्ने निष्कर्ष निकालेर देउवा व्याक भएका हुनसक्छन् नै। माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग प्रधानमन्त्री पदमा प्रतिष्पर्धाका लागि देउवालाई उम्मेदवार बनाईएको थियो। तर, उनी उम्मेदवार मात्र बने प्रधानमन्त्री बनेनन्।

तेस्रो कारण जत्ति विरोध गरेपनि पौडेललाई पार्टीको तर्फवाट प्रधानमन्त्रीको उम्मेदवार हुनवाट रोक्न नसकिने पक्का भएपछि उनले झगडा गर्नु भन्दा सहमती गरेर यसो आफ्नोपक्षका केही नेतालाई सरकारमा पठाउने वातावरण बनाउन पौडेललाई समर्थन गरेको पनि हुनसक्छ। किनकी एमाले नेता माधव नेपाल नेतृत्वमा सरकारमा कांग्रेसको प्रतिनिधित्वको विषयमा प्रारम्भमा असहमत बनेका देउवा पछि गिरिजाप्रसाद कोइरालाले उनको सिफारिसका डा प्रकाशशरण महत,बालकृष्ण खांड,मिनेन्द्र रिजाल लगायतकालाई मन्त्री बनाउन राजी भएपनि सुजाता कोईरालाको नेतृत्वमा सहमती जनाएका थिए।

पौडेल बन्लान् प्रधानमन्त्री?

अहिलेको अवस्थामा सरकारको नेतृत्व कांग्रेसले नै गर्छ भन्ने ग्यारेन्टी केही छैन। देउवा र गुरुगंको समर्थनपछि पौडेललाई पार्टीका तर्फवाट भावी प्रधानमन्त्रीको उम्मेदवार बनेपनि  उनको भाग्यको फैसला उनको दलको हातमा छैन, सहयोगी दलको हातमा छ। उनी प्रधानमन्त्री बन्ने बाटो भनेको माधव नेपाल जसरी प्रधानमन्त्री बनेका थिए त्यही बाटो नै हो। अहिलेको गठबन्धन कायम रहेन भने उनलाई माओवादीको समर्थन आवश्यक पर्छ। जो सम्भव देखिएको छैन।

माओवादीसंग शनिवारनै भएको छलफलमा पौडेललाई प्रधानमन्त्रीको रुपमा स्विकार गर्न अस्विकार गरीसकेको छ। एमालेभित्र पनि सके आफैं सरकारको नेतृत्व गर्ने पक्षमा छ। मधेसवादी दलहरु महन्थ ठाकुरको नाम प्रधानमन्त्रीको रुपमा अगाडि सारिरहेका छन्। त्यसैले पौडेलको उम्मेदवारी के हुन्छ? निश्चित छैन।

चर्चा भएझै उनी भारतको योजना अनुसार प्रधानमन्त्रीको उम्मेदवार बनेको हो भने अहिलेको गठबन्धन कायम रहनसक्छ। पौडेलले आफु निकट केही ब्यक्तिलाई मधेसी जनअधिकार फोरम उपेन्द्र यादव समुहले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको बताएका छन् रे। फोरम गएपछि तमलोपा,सद्धभावना अनी अरु साना दल मन्त्री पाईन्छ भनेर समर्थनमा पक्कै गईहाल्छन्।
मुल कुरा एमालेले के गर्छ भन्ने हो। एमालेभित्र माधव नेपाल र केपी ओली समुह अब कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिनेपक्षमा देखिएतापनि माओवादीले कांग्रेसको योजना असफल बनाउन झलनाथ खनाललाई समर्थन गर्ने रणनीति लियो भने माओवादीसंग मिलेर सरकार बनाउने रणनीतिमा एमालेभित्र बामदेव गौतम लगायतका नेताहरु पनि सक्रिय छन्। यदी माओवादीले निशर्त एमालेलाई समर्थन गर्‍यो भने पौडेलको प्रधानमन्त्रीको सपना तत्कालका लागी तुहीनसक्छ।

प्रधानमन्त्री बन्ने राजनीति खेललाई नयां मोड दिन माओवादीले शनिवार पार्टी अध्यक्ष नै प्रधानमन्त्रीका उम्मेदवार हुने पुरानो अडान सच्याउंदै पार्टीभित्रवाट जुन नेता पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने अनी पार्टीले अन्य दलका प्रधानमन्त्रीका उम्मेदवारलाई पनि समर्थन गर्नसक्ने विकल्प खुल्ला गरेको छ। यो निर्णय पनि पौडेलका लागि सकारात्मक नहुनसक्छ।

कांग्रेसभित्रै पनि एक समुह पौडेललाई प्रधानमन्त्री बन्न नदिने खेलमा थप सक्रिय पक्कै बन्छन्। सबै दलका नेतालाई मनाउनसक्ने गिरिजाप्रसाद कोइराला जस्ता नेता पनि छैनन कांग्रेसमा। यस्तो अवस्थामा पौडेलको प्रधानमन्त्री पथ सपनामात्र पनि बन्न सक्छ।

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree