मात हराएको ठमेलको रात

 द्धन्द्धकालले छुन नसकेको काठमाडौंको रात्रीकालीन व्यवसाय शान्तीपूर्ण राजनीतिक अभ्याससँगै ओरालो लाग्न शुरु भयो। जुन क्रम रोकिएन। रोकिएको छैन। झन तिब्र छ । जसको प्रभावमा परेर करिव एक अर्वको स्वदेशी लगानी जोखिममा परेको छ। मन्दीसँगै बेरोजगार भएका युवतीहरु कामको खोजीमा दुबई, मलेसिया,दक्षिण अफि्रका जस्ता मुलुकमा गएर जोखिम मोलिरहेका छन् । समाजमा अश्लिलता फैलाएको बहानामा आक्रमणमा उत्रिएको जिम्मेवार निकाय मौन छन्। न उनीहरुले पूर्ण रुपमा बन्द गराउन सकेका छन् न नियमन नै गर्न सकेका छन् । हेर्दा यि व्यवसायीले साच्चिकै अचाक्ली गरेकाले सरकारले नियन्त्रण गरेको झै देखिन्छ। तर, वास्तविकता अर्कै छ। गृह प्रशासन, प्रहरी र टोले दादाहरुको असुलीको प्रतिष्पर्धाको चेपुवामा परेर हराएको हो ठमेलको रातको मात ।

……………………………………….

गृहमन्त्रालय होस् या स्थानीय प्रहरी प्रमुख। शान्ती सुरक्षाको अवस्थामा सुधार ल्याउने उनीहरुको अभियानको पहिलो सिकार बन्दै आयो रात्रीकालीन  व्यवसाय।

नयाँ गृहमन्त्रीको कार्यकालको प्रारम्भ ठमेलमा छापा हान्ने निर्देशनवाट शुरु हुन थाल्यो। अनी काठमाडौं प्रहरी प्रमुखको पहिलो पत्रकार सम्मेलन डान्सबारमा छापा मारेर पक्राउ गरेका कर्मचारीको प्रर्दशनवाट शुरु हुने परम्परा नै बस्यो। जुन अहिलेपनी निरन्तर छ। जसको प्रभावका कारण विकसित शहरको अनिवार्य व्यवसाय रात्रीकालीन मनोरञ्जन घिटिघिटीको अवस्थामा पुगिसकेको छ।

व्यवसायिहरु सरकारको अनुदार नीति अनी प्रशासनको मनलाग्दो व्यवहारले व्यवसाय धरासायी भएको बताउँछन्। ‘केही काम गर्न सकिएन भने गृहमन्त्रीले रात्रीकालीन व्यवसायले शुरक्षाको खतरा बढाएको भाषण गर्छन,प्रहरी लाइन लागेर डान्सबार, डिस्को र दोहोरीमा छापा हान्न आउँछन्’एक व्यवसायिले भने’ उनीहरुले कहिल्यै यो व्यवसायलाई व्यवस्थित गर्ने प्रयासै गरेनन्,केवल आक्रमण मात्र भयो।’

सञ्चार माध्यम, महिला अधिकारकर्मीले समेत अनावश्यक यही व्यवसायलाई तारो बनाएको गुनासो गर्छन रात्रीकालीन व्यवासायी संघका अध्यक्ष समिर ‘डान्सबार भन्नासाथ सबैका अनैतिक काम मात्र हुन्छन् भन्ने गलत प्रचार गरियो’ उनले भने’व्यवसायिक आचरणमा बसेर काम गर्नेहरु पनि यसको चेपुवामा परेर विस्थापीत हुन बाध्य भए।’

२०६२/०६३ को लोकतान्त्रीक आन्दोलनको सफलतासँगै माओवादी खुल्ला राजनीतिमा आयो। सँगै रात्रीकालीन व्यवसाय पनी फस्टाउन थाल्यो। बृहत शान्ती सम्झौतापछी शान्तीको आशमा शहरियाहरु डान्सबार, दाहोरी र डिस्कोमा झुक्न थाले। सरकारको ध्यान बढी राजनीतिक व्यवस्थापनमा केन्द्रित थियो। त्यसैलबेलुका सात वजे व्युझने रात्रीकालीन व्यवसाय विहान २ वजेसम्म जमेकै हुन्थे। रात्रीकालीन व्यवसायको हट स्पट ठमेलवाट विस्तारहुँदै रिङरोड क्षेत्रमा फैलिए। ठमेललाई सुन्धारा,गौशाला,नयाँबानेश्वर, चावहिल, सामाखुसीले समेत चुनौती दिन थालेको थियो।

तर, व्यवसायिको यो सुखद अनुभव दिगो हुन पाएन। लोकतान्त्रीक आन्दोलनमा कुम जोडेर हिडेका दलका नेताविच खटपट शुरु भयो। उनीहरुको ध्यान शान्ती र संविधानवाट विकेन्द्रीत भयो। र सस्तो लोकप्रियताका लागी यो व्यवसायमाथी आक्रमण शुरु भयो।
……………………

माओवादीसँगै उसका युवा सँगठन, मजदुर सँगठन खुल्ला भए र, सँगठन विस्तारमा केन्द्रित भए। व्यवसाय सञ्चालन गर्न गृह प्रशासन र स्थानीय टोलेगुन्डाहरुको चित्त बुझाए पुग्थ्यो। उनीहरुको सक्रियतासँगै आर्थिक व्यवभार बढेको अनुभव सुनाउँछन् व्यवसायीहरु।

माओवादी सत्ता सञ्चालकको प्रमुख भएपछी यि व्यवसायिको दुर्दशा शुरु भयो। २०६५ मा पुष्पकमल दाहाल सरकारका एमाले गृहमन्त्री बामदेव गौतम उनीहरुका लागी अभिशाप बनेर आए। अहिलको यो अवस्थाको प्रमुख कारण गौतमकै लहडीपन रहेको हाक्काहाक्की बताउँछन् व्यवसायीहरु।

राजनीतिक दलहरुविच बढ्दो द्धन्द्धपछी उनले आफ्नो कार्यकाल सफल बनाउन शुरक्षाको अवस्थामा सुधार गर्ने भन्दै रात्रीकालीन व्यवसायको मुलमर्ममा प्रहार गरे। रात्रीकालीन व्यवसायलाई उनले किराना पसलको नियम लगाए। जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐनको प्रयोग गर्दै रात्रिकालीन व्यवसाय १० वजे नै बन्द गर्नुपर्ने उर्दी जारी गर्‍यो।

गौतम फेरीए, तर उनीपछीका गृहमन्त्रीहरु फेरिएनन्। भिम रावल,कृष्णबहादुर महरा,नारायणकाजी श्रेष्ठहुँदै विजयकुमार गच्छदारसम्म आईपुग्दा १० वाट बढेर १२ वजेसम्म पुगेको छ। तर,व्यवहारमा कुनै परिर्वतन नआएको व्यवसायिहरुको अनुभव सुनाउँछन्।…रात्रीकालीन व्यवसाय भनेकै रातभर सञ्चालन गर्ने हो’ संघका अध्यक्ष समिर गुरुङले भने… जवसम्म २४ घन्टे सुविधा हुन्न व्यवसाय उभो लाग्न सक्दैन।’
काठमाडौंका प्रहरी प्रमुखहरुले समेत गृहमन्त्रीको लोलीमा बोली मिलाए। काठमाडौं परिसरका तत्कालीन प्रहरी प्रमुखहरु नवराज सिलवाल,गणेश केसी, रमेश खरेल,केदार रिजालहुँदे राजेन्द्र श्रेष्ठसम्म आइपुग्दा अवस्था उही छ।

अझ खरेलको समयमा सार्वजनिक अपराध ऐन टेकेर मात्र कार्वाही गर्दा प्रभाव नपरेको भन्दै उनले नाङगो नाच नचाएको अभियोगमा डान्सबारका सञ्चालकमाथी मानव वेचविखनको अभियोगै लगाए। सोही ऐन अर्न्तगत करिव सात जना व्यवसायी कारागार पुगेपछी व्यवसायी त्राहिमाम भए।
………………………..
प्रारम्भमा,रात्रीकालीन व्यवसायका कारण उपत्यकाको शुरक्षा अवस्थामा चुनौती थपिएको भन्दै गृहले व्यवसायमाथी धावा बोलेको थियो।

गृहको विष्लेशण केही हदसम्म सत्य नजिक थियो। उपत्यकाका रात्रकालीन व्यवसाय प्रहरीको सँगठीत अपराधीको सूचीमा रहेका ब्यक्तिहरुको मुट्ठीमा थियो। दिपक मनाङे,चक्रे मिलन,गणेश लामा, कुमार घैटे, दिनेश अधिकारी चरी कुनै न कुनै रुपमा रात्रीकालीन व्यवसायमा सँलग्न थिए।

दिपक र गणेशको मुख्य आर्थिकस्रोत नै रात्रीकालीन व्यवसाय थियो। दुबैले ठमेल क्षेत्रलाई आफ्नो पूर्ण पकडमा राखेका थिए। उनीहरुको स्विकृतीविना न व्यवसाय खोल्न सकिन्थ्यो न सञ्चालननै गर्न सकिनथ्यो।

डान्स, डिस्को र पवमा बाउन्सरको रुपमा कार्यरत युवाको जर्वजस्ती रकम असुली, ठेक्कापट्टा कब्जा, रक्त चन्दन तस्करी र हत्या जस्ता आपराधिक घटनामा सँलग्नता बढ्यो।

ठमेल क्षेत्रमा पाँच महिनाको अवधीमा १७ वटा पेस्तोल पक्राउ पर्यो। लुटपाटका घटना बृद्धी भए। यसले गृह र प्रहरीको दावीलाई पुष्टी नै गर्न मद्धत गर्यो।
तर, रात्रीकालीन व्यवसायमाथी अंकुश लगाएपनी संगठीत आपराधिक समुहका नाइकेहरुको सक्रियता घटेन, न आपराधीक घटना नियन्त्रणमा नै उल्लेखनिय उपलब्धी भयो। सरकारको नियन्त्रणपछी वेरोजगार बनेका युवाहरु जर्वजस्ती रकम असुली लगायतका अन्य अपराधमा सक्रिय देखिए।
……………………..

शुरक्षमा सुधारको तर्क कमजोर देेखिएपछी सामाजीक मर्यादाविपरित काम हुने गरेको,मनोरञ्जनको बहानामा नाङगो नाच नचाएर अश्लिलता फैलाएको भन्दै सामाजीक मर्यादा कायम गर्न कडाई गरेको तर्क शुरु भयो। बामदेवले शुरु गरेको नैतिकताको तर्कलाई उनीपछिका गृहमन्त्रीले पनि पच्छ्याए।

केही प्रतिशत व्यावसायीले बदमासी गरेको स्विकार गर्दै उनीहरु त्यही आधारमा पुरै मनोरञ्जन क्षेत्रलाई एउटै बक्सामा हालेर विष्लेशण गर्ने काम भएको व्यवसायिको टिप्पणि छ।

‘केही व्यावसायीहरुले चाँडै आर्थिक लाभ लिन डान्सबारको आवरणमा नग्न नृत्य पनि गराए, सावर डान्सबारको नाममा देह व्यापारको पनि काम गरे होलान् ‘ समिरले भने…तर,एक तिहाईको संख्यामा रहेका यस्ता व्यवसायीलाई देखाएर सबैलाई त्यही सूचीमा राख्नु गलत हो।’

अश्लिलता फैलाएको र महिला कामदारमाथी यौन र्दुब्यबहार हुने गरेको, कतै दर्ता नै नगरी सञ्चालन गर्ने गरेको आरोपहरु लागेपछी व्यवसायीहरुले कम्पनि रजिष्टारको कार्यालय, स्थानीय निकायमा दर्ता गरेर व्यवसाय सञ्चालन शुरु गरे। महिला कामदारमाथी हुने गरेको उत्पिडन रोक्न सर्वोच्च अदालतले आचार संहिता समेत जारी गरेको छ। तर,पनि सरकार यो व्यवसायमाथी उदार बन्न सकेको छैन।

………………
व्यवसायीहरु रात्रीकालीन व्यवसायीमाथी लगाइने गरेको आरोपमा केही सत्यता भएपनी भित्री खेल आर्थिक संकलन नै रहेको ठोकुवा नै गर्छन।
तत्कालीन गृहमन्त्री गौतमले रात्रीकालीन व्यवसाय र क्यासिनोमाथी एकै पटक धावा बोल्नुको भित्री रहस्य पनि अर्थनै रहेको देखिन्छ। प्रारम्भमा कडाई गरेर संकटमा पारेपछी व्यवसायिलाई दुहुने उनको योजना थियो।

तर,व्यवसायीहरु विरोधमा उत्रिए। उनीहरु गृहको आलोचनामा सडकमै उत्रिएपछी रात्रीकालीन व्यवसायको समयसिमा गृहमन्त्री र व्यवसायीविच अस्तित्वको लडाई बन्यो। सम्बन्ध चिसो भएपछी वार्गेनिङको वातावरण नै विग्रियो। सत्ताको शक्तिका अगाडि व्यवसायीको केही चलेन। गौतमले पेलिरहे। उनीहरुकै हार भयो।

त्यसपछीका गृहमन्त्रीका आसेपासेले समय बढाउने सर्त पुरा गराउन आर्थिक प्याकेजका प्रस्तावहरु नल्याएका हैनन्। तर, व्यापार निरन्तर ओरालोमा रहेकाले उनीहरुले महंगो प्रस्तावहरु पुरा गर्न सकेनन्। अपराध र सामाजिक मर्यादाको खोल ओढेर सरकारले उनीहरुलाई पेलिनै रहे।

‘जे बहाना बनाएपनी सबैको एउटै उद्धेश्य भनेको नियमको डण्डा देखाएर अर्थ संकलननै हो’ नाम उल्लेख गर्न नचाहने एक व्यवसायिले भने’प्रहरी होस् या गृहमन्त्री उनीहरु कुनै न कुनै रुपमा व्यवसायीवाट आर्थिक सहयोगको लालसा राख्छन्।’

व्यवसायीहरुका अनुसार व्यापार चौपटै भएको अवस्थामा पनि आर्थिक फर्माइस भने रोकिएको छैन। अहिले माथिल्लो तहको आर्थिक प्रस्तावहरु रोकिएका छन्। तर, प्रहरीको फर्माइस रोकिएको छैन।

‘व्यापार सुस्तै भएपनी रिचार्ज कार्ड देखी निश्चित हप्ता नबुझाई रेष्टुरेन्टमा ताल्चै लाग्ने अवस्था छ’ व्यवसायीले भने’अहिले पनि स्थानीय प्रहरी युनिटलाई मासिक पाँच हजार देखी १० हजारसम्म रुपैंया बुझाईनै रहेका छौं।’

प्रहरीको व्यवहारले व्यवसायिहरुको यो दावीको पुष्टी हुन्छ। काठमाडौंको रात्रीकालीन व्यवसायको बाक्लो उपस्थिती रहेको सोह्खुट्टे,दरवारमार्ग, जनसेवा लगायतका क्षेत्रको इन्चार्ज हुन प्रहरी निरिक्षकविच राम्रै प्रतिष्पर्धा हुन्छ। पावरफुल राजनीतिक लिंक वा मोटो रकम नभई जेनतेन यि प्रभागको प्रमुख बन्ने प्रहरी अधिकारी सँगठनभित्रै भाग्यमानीका रुपमा परिचित हुन्छन्।

आर्थिक रुपमा पारदर्शी प्रहरी प्रमुख आएपनी उनीहरु व्यवसायीप्रती भने उदार हुन सकेनन्। उनीहरुले थप कडाईनै गरे।

गच्छदारका केन्द्रिय सदस्य गणेश लामा आफैं रात्रीकालीन व्यवसायी भएकाले उनी केही उदार हुनसक्छन् भन्दै केही व्यावसायीले समय बढाउने पहल गरेका थिए। उनी सकारात्मक त भए, तर आर्थिक फर्माइस सहित। फर्माइस मोटो भएकाले पुरा गर्न सकेका छैनन व्यवसायीले भने। समन्वय गरिरहेका एक व्यवसायिले भने…उनको माग पुरा गर्न व्यवसायीसँग रकम संकलन गर्दा एक चौथाई पनि पुगेन।’

…………………………….
रात्रीकालीन व्यवसाय कतिखेर खोल्ने कतिखेर बन्द गर्ने कुनै निश्चित नियम छैन। प्रष्ट कानुन नहुँदा प्रशासनको मौखिक निर्देशननै कानुन बन्ने गरेको छ। गृहले दिने मौखिक निर्देशनलाई जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐनले शान्ती शुरक्षा बहालीको जामा लगाएर निर्देशन दिने गरेको छ। अनी कानुन परिपालनाको जिम्मेवारी बोकेको प्रहरी सँगठनले अस्पष्ट कानुनलाई नै हतियार बनाउने गरेको छ।

प्रशाकसकको मुड अनुसार समय निर्धारण हुने भएकाले अनावश्यक तनाव ब्यहोर्नु परेको व्यवसायिको गुनासो छ।

व्यवासयको प्रकृती अनुसार प्रष्ट निति नियम बनाए आफुहरु पालना गर्न राजी भएको व्यवसायीहरु बताउँछन्। ‘सरकारले निश्चित नियम कानुन बनाउने हो भने हामी पालना गर्न राजी छौं’संघका अध्यक्ष समिर गुरुङले भने’तर, नीति नियम व्यवासयको प्रकृती अनुसार हुनुपर्यो।’

सरकारले रात्रीकालीन व्यवसायले अश्लिलता फैलाएको भन्दै कडाई गरेपछी वेरोजगार भएका युवती रोजगारको विकल्पको खोजीमा दुबई, मलेसिया, युइए  जस्ता देशमा पुगेका छन्।

आर्थिक रुपमा नेपालमा भन्दा आर्कशण भएपनी जोखिमपूर्ण काम छ। डान्सरका रपमा काम गर्न गएका युवती वेचिएको र जर्वजस्ती यौन व्यापारमा सँलग्न गराईएको घटना सार्वजनिक भईरहेका छन्।

व्यवसायीहरु नेपालमै उद्योगको रुपमा स्थापीत हुने प्रयासमा रहेको व्यवसायलाई मर्यादीत बनाउनुको साटो एकोहोरो पेलेर आफ्नै देशका चेलीबेटीलाई जोखिमपूर्ण काममा जान प्रोत्साहीत गरेको आरोप लगाउँछन् व्यवसायी।

डान्सबारका डान्सहरुलाई विदेश पुर्‍याउन सँगठीत समुह नै सक्रिय रहेको बताउँदै समिरले भने’वास्तवमा मानव वेचविखन त त्यो हो नी, खै त सरकारले नियन्त्रणको प्रयास गरेको?’ उनले भने …हामीले के के गर्नुपर्यो तयार छौं भन्दा पनि सरकारले वास्ता नगर्नु पछाडि कारण त्यही सँगठीत समुहको प्रभाव पनि हुनसक्छ।’
……………..
महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी रविराज श्रेष्ठले रात्रीकालीन व्यवसायको आवरणमा आपराधिक गतिविधी बढेकाले नियन्त्रणका लागी समय सिमा तोकिएको बताउँछन्।
समय सिमा तोक्नुको उद्धेश्य व्यवसाय धरासायी बनाउने भन्दा पनि व्यवसायको आवरणमा बढेको गम्भिर प्रकृतीका आपराधिक घटना नियन्त्रण प्रमुख लक्ष्य रहेको उनले बताए।
२४ सैं घन्टा निगरानीमा खटाउन प्रहरी जनशक्तिको अभाव र रात्रीकालीन समयमा यातायात, बत्ति लगायतका भौतिक सुविधाको कमीका कारण समेत रात्रीकालीन व्यवसाय सञ्चालनको निश्चित समय तोक्नु परेको उनको तर्क छ।
…रक्सी खाएर झगडा गर्ने, आएका ग्राहक लुट्ने, बाउन्सरका रुपमा राखेका केटाहरु लगाएर ग्राहकलाई नै कुट्ने जस्ता आपराधिक गतिविधी बढेकाले नियन्त्रणका लागी समयसिमा तोक्न बाध्य भएका हौं’ उनले भने’व्यवसायको नाममा जे पायो त्यही गर्ने छुट दिन सकिँदैन।’
उपत्यकाको ठमेल, दरवारमार्ग, सुन्धारा र ललितपुरको झमेल लगायतका केही निश्चित क्षेत्रलाई २४ घन्टा व्यवसाय सञ्चालन गर्न दिने विषयमा आयुक्त कार्यालय छलफलकै चरणमा रहेको उनले बताए।
‘रात्रीकालीन व्यवसायलाई समय सिमावाट मुक्त गर्न हामी सकारात्मक छौं’ एसएसपी श्रेष्ठले भने’यदी व्यवसायीहरुले आफ्नो आचार संहिता आफैं बनाएर आयुक्त कार्यालयमा छलफल गर्न आउँछन् भने हामी छलफलका लागी तयार छौं।’

1 response to "मात हराएको ठमेलको रात"

  1. samir says:

    la la kp sir, thamel ka lafanga ko sangat ali badhi nai bha ko ho ki? hamile pani ramrai sanga bujhya ho thamel lai.. any way thanx for your study about thamel.

प्रतिकृया लेख्नुहोस्

(अनिवार्य)

अभिलेख

ताजा ब्लगहरू

मेरो सिफारिस

ताजा प्रतिकृयाहरू

सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित
eXTReMe Tracker