अर्काको राहदानीमा आफ्नो तस्बिर राखेर कुवेत पुगेकी अञ्जली मोक्तान पक्राउ परेकी छन्। बुद्धिमाया घलेको नाममा जारी सक्कली राहदानीमा तस्बिर फेरेर कुवेत पुगेकी उनलाई कुवेतको नेपाली दूतावासले नेपाल फर्काएको हो। आइतबार त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले उनलाई पक्राउ गर्यो। मकवानपुर राक्सीराङ– ८, कोदोखोलाकी मोक्तानले मकवानपुर मनहरी–२ की घलेको ४८७७२६९ नम्बरको राहदानीमा आफ्नो तस्बिर राखेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
उनले २०१० अप्रिल २८ मा कुवेत पुगेर घरेलु सहयोगीको काम गरेकी थिइन्। कुवेती दूतावासले अर्काको राहदानीमा आएको पत्ता लगाएपछि मंसिर २ गते नियन्त्रणमा लिएको थियो। अनुसन्धानमा राहदानी दुरुपयोग पुष्टि भएपछि उनलाई एयर अरेबियाको उडानबाट नेपाल फर्काइएको हो।
वैदेशिक रोजगारमा जान २१ वर्ष हुनुपर्छ। उनी भने १६ वर्षकै उमेरमा कुवेत गएको खुलेको छ। उमेर नपुगेपछि उनका फुपाजु भिमबहादुर मोक्तानले २५ हजार रुपैयाँमा घलेको राहदानीमा तस्बिर फेर्न सहयोग गरेको स्रोतले जानकारी दियो। राहदानीअनुसार घलेको उमेर २५ वर्ष छ।
फुपाजुले उनलाई कलंकीको लालीगुँरास गेस्ट हाउसमा १० दिन राखेर कुवेत जाने भिसा मिलाइदिएको अनुसन्धानबाट खुलेको छ। ब्युरोले थप अनुसन्धानका लागि आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ।
नेपाली राहदानी दुरुपयोग गरी कुवेत जाने नेपाली र भारतीय महिलाको संख्या उल्लेख्य रहेको ब्युरो प्रमुख उपेन्द्रकान्त अर्यालले बताए। यसको खोजी गर्न कुवेतस्थित दूतावाससँग समन्वय भइरहेको पनि उनले जानकारी दिए।
राहदानीबाहक मात्र पक्राउ
यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा नेपाल र भारतको नयाँदिल्लीबाट जाली राहदानी प्रयोग गरी असम्बन्धित व्यक्तिहरूलाई कुवेत पठाउने गिरोह सक्रिय रहेको खुलेको छ। कुवेती दूतावासको सक्रियतामा यस्ता कामदारलाई स्वदेश फर्काउने गरिएको छ।
कामका लागि कुवेत जान भारतमा कडा कानुन रहेकाले नेपाली मूलका भारतीय नागरिकले नेपाली राहदानी प्रयोग गर्ने क्रम बढेको ब्युरो प्रमुख अर्यालले जानकारी दिए। नेपाली राहदानीमा दिल्लीबाट सहजै कुवेतलगायत खाडी मुलुक जान सकिने भएपछि भारतमै तस्बिर फेरेर नक्कली राहदानी बनाइन थालेको अनुसन्धानबाट खुलेको छ।
दिल्लीमा सक्रिय गिरोहका केही नेपाली एजेन्टको नाम खुले पनि पक्राउ परेका छैनन्। प्रहरीले राहदानीबाहकलाई मात्र नियन्त्रणमा लिएर कारबाही गर्दै आएको छ।
प्रहरीले कात्तिक ३० गते नेपाली राहदानीमा आफ्नो तस्बिर राखेर कुवेत पुगेकी सिक्किमकी प्रीति राई सुब्बालाई पक्राउ गरेको थियो। उनलाई सिक्किमका पञ्चु प्रधान र पत्नी सविता प्रधानले दिल्ली लगेर नेपाली राहदानी बनाइदिएको खुले पनि अन्य विवरण आएको छैन।
कात्तिक ६ गते कुवेत पुगेर २० महिना काम गरेकी १५ वर्षीया सुकुन राई समेत दिल्ली पुगेर गिरोहको सहयोगमा कुवेत उडेकी थिइन्। उनले आफ्नै दिदी इन्द्रकुमारी राईको राहदानीमा आफ्नो तस्बिर राखेकी थिइन्।
कात्तिक ४ गते कुवेतस्थित नेपाली दूतावासले नियन्त्रणमा लिएर नेपाल फर्काएका किशनकुमार विकको अनुसन्धानबाट नयाँ दिल्लीमा नेपाली राहदानी दुरुपयोग गरी गैरनेपाली समेतलाई विदेश पठाउन गिरोह नै सक्रिय रहेको खुलेको थियो।
अनुसन्धानअनुसार दिल्लीको आकाश ओभरसिजका सञ्चालक कमल र निशा नामका व्यक्तिले नेपाली राहदानीमा खाडी राष्ट्रमा उडाउने गरेका थिए। दुवै नेपाली नै हुन्। उनीहरू बर्दियाको भएको खुलेको छ। एउटा राहदानीमा तस्बिर फेरेको १ लाख रुपैयाँसम्म असुल्ने गरेका छन्। पक्राउ गर्न भारतीय सुरक्षा निकायसँग समन्वय गरिएको डिआइजी अर्यालले जानकारी दिए।
‘नेपालको इन्टरपोलमार्फत् भारतको इन्टरपोलसँग समन्वय गरिरहेका छौं,’ आर्यालले भने, ‘नेपालमै सक्रिय गिरोहको खोजीका लागि ब्युरोकै टोली खटाएका छौं।’
केपी ढुंगाना
काठमाडौं, मंसिर ४
फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा अर्काको तस्बिर बिगारेर राख्ने गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहोला। यस्ता कारबाही नियन्त्रण गर्न प्रहरीले विद्युतीय कारोबार ऐनलाई कडाइ साथ कार्यान्वयन गर्ने भएको छ। सूचना प्रविधिको दुरुपयोग गर्दै व्यक्तिको मानहानी–चरित्रहत्या हुने गरी तस्बिर बिगार्ने, अर्र्कैको तस्बिरका विभिन्न अंगहरू जोडेर प्रकाशित सामग्रीलाई आधार बनाएर त्यस्ता काममा संलग्न व्यक्तिलाई प्रहरी प्रधान कार्यालयले कारबाही [...]
देशमा रोजगारीको प्रशस्त सम्भावना नहुनु र स्वरोजगार कार्यक्रमलाई सरकारले प्राशमिकता दिन नसक्नुले यस्ता असामाजिक तत्वहरुले चलखेल गर्ने स्थान पाएका छन्। यस्ता गिरोहहरुले यसबापत मोटो रकम असुल्ने गरेको पाईएको छ। ‘मेसिन रिडेवल पासपोर्ट’ प्रणालीले यस्ता कृयाकलापहरुलाई केही हदसम्म रोकथाम गर्न सक्नेछ भन्ने मैले आशा लिएको छु। यद्यपि 2020 सम्म (साधारण राहदानी 10 वर्षसम्म बैध हुने अर्थमा) यस्ता कृयापलापहरुले स्थान पाईरहनेछन्। नेपाल जस्तो भ्रष्ट मुलुकमा पैसाको भरमा यस्ता गिरोहहरुले मेसिन रिडेवल पासपोर्ट पनि सजिलै हातपार्न सक्नेमा कुनै द्विविधा छैन। पीडित (सम्भावित) व्यक्तिहरुलाई यसवापत भोगनुपर्ने सजायको बारेमा विभिन्न सञ्चार माध्यमबाट जानकारी गराउनु अत्यावश्यक भएको मैले महसुस गरेको छु।
विदेशमा जानुपर्ने व्यक्तिहरुले लिनुपर्ने “Character Certificate” पनि यस्ता गिरोहहरुले “अपराध अनुसन्धान आयोग, नक्साल” को लेटर प्याड र किर्ते छाप प्रयोग गरि जारी गरेको मैले स्वयं देखेको छु।
यस्ता गिरोहहरुलाई नियन्त्रणमा नलिई पीडितलाई मात्र कारवाहीको दायरामा ल्याउनाले पीडित झन् दोहोरो मारमा पर्ने निश्चित छ। यसले ‘हात्ती छोड्नु पुच्छर अड्काउनु’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्नेछ।