भारतमा छापिन्छन् नक्कली नेपाली नोट

भारतीय नक्कली रुपैयाँमा कारोबारी गिरोह नेपाली नक्कली नोटमा सक्रिय रहेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली नेपाली रुपैयाँको कारोबारमा संगठित समूहका दुई सदस्यलाई पक्राउ गरेपछि नयाँ तथ्य आएको हो। ३ लाख ११ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेका विनोदकुमार शाह यसअघि भारतीय नक्कली रुपैयाँ कारोबारमा सक्रिय रहेको प्रहरीको भनाइ छ।

पक्राउ परेका अर्का कपडा व्यापारी शिवशक्ति पोखरेल दोस्रो तहका कारोबारी रहेको अनुसन्धान अधिकारीले बताए। ‘यसअघि फोटोकपी गरिएका नक्कली नोट फेला परेका थिए’ ब्युरो प्रमुख उपेन्द्रकान्त अर्यालले भने, ‘यसपाली फेला परेको रकम प्रेसमै छापिएको रहेछ।’

ब्युरोका डिएसपी ओम अधिकारीका अनुसार राजधानीमा नक्कली रुपैयाँको कारोबारी सक्रिय रहेको सूचनाका आधारमा शाह बिहीबार कोटेश्वर चोकबाट पक्राउ परेका हुन्।

उनको साथबाट पाँच सय र एक हजार दरको ३ लाख ११ हजार दरका नक्कली नोट बरामद भएपछि पोखरेल पनि पक्राउ परे। पोखरेल बानेश्वरका रेडिमेड कपडा व्यापारी हुन्। शाहलाई उनैले जाली नेपाली रुपैयाँ उपलब्ध गराएको प्रहरीको भनाइ छ।

‘पोखरेलले कपडा पसललाई नक्कली नोट कारोबारको सम्पर्क केन्द्र बनाएछन्,’ अधिकारीले भने, ‘कारोबार अन्यत्रै गर्ने भएकाले प्रमाणसहित पक्राउ गर्न समय लाग्यो।’
भारुपछि नेपाली २०६६ चैतमा नक्कली भारुसहित पक्राउ परेका साह खोटाचलनको मुद्दामा धरौटीमा रिहा भए। पछि पोखरेलसँग मिलेर नक्कली नेपाली रुपैयाँको कारोबार थाले।
पोखरेलले १ लाख नक्कली रुपैयाँवापत ५० हजार सक्कली रुपैयाँ लिँदै आएको अनुसन्धान स्रोतको दाबी छ। पोखरेलबाट लिएको रकम अछामका शाहले पहाडी क्षेत्रका बजारमा फैलाउने गरेका थिए।

पोखरेलले ठूलो परिमाणको नक्कली नेपाली रुपैयाँ स्टोर गरी राखेको आशंका गरिए पनि प्रहरीले थप रकम भने फेला पार्न सकेको छैन।

ब्युरोको प्रारम्भिक अनुसन्धानबाटै बरामद गरेको रकम भने छापाखानामा छापिएको देखिएको छ।

स्रोतका अनुसार नेपाली नक्कली रुपैयाँको मुख्य केन्द्र वीरगन्ज हो। ‘भारतीय सहरमा छपाइ गरी खुला सीमाबाट नेपालभित्र ल्याउने गरेको देखियो,’ स्रोतले भन्यो, ‘सहरी क्षेत्रमा कारोबार गर्दा चाँडै समातिने भयले उनीहरु दुर्गम क्षेत्रमा बढी सक्रिय थिए।’

नक्कली भारतीय रुपैयाँ मलेसिया, दुबईलगायत राष्ट्रमा छपाइ हुने भएकाले सक्कली र नक्कली खुट्याउन ल्याब परीक्षणै गर्नुपर्ने भए पनि नेपाली रुपैयाँको हकमा भने सामान्य चलाखी अपनाए पत्ता लाग्ने प्रहरी अधिकारीको भनाइ छ।

शाह र पोखरेलवाट फेला पारिएको पाँच सय र हजार दरको नोट सक्कलीको तुलनामा केही खस्रो र मोटो देखिन्छ।

सक्कली नोटमा प्रयोग गरिएका सुरक्षाका सूत्र नक्कलीमा समेत प्रयोग गरिए पनि सामान्य अवलोकनमै सक्कली र नक्कली छुट्टिने अनुसधानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए। प्रहरीले पहिलो तहका कारोबारीको भने पहिचान गर्न सकेको छैन।
पाँचथर, चितवन, बागलुङ, कास्की, म्याग्दी, गोरखालगायत जिल्लामा दैनिक नक्कली नोट फेला पर्ने गरेका छन्।

बजारमा किनमेल गर्नेक्रममा मात्रै हैन, बैंकमा जम्मा भएको चाङमा समेत नक्कली नोट फेला पर्ने थालेका छन्।

जेठ ३ गते पाँचथरको माछापुच्छ्रे बैंककमा रकम जम्मा गर्न आएका एक ग्राहक हजार दरकै चारवटा नोट नक्कली फेला परेको थियो। पाँचथरकै नेपाल बैंक लिमिटेड र क्लिन इनर्जी बैंकमा जम्मा भएको रकममा समेत नक्कली नोट भेटिएको थियो।

असोज ५ गते म्यादीमा राष्ट्रिय वाणिज्य बैंकमा एक हजारको नक्कली नोट फेला परेको थियो।

असार २४ गते चितवनमा १ लाख ९० हजार नक्कली नेपाली रुपैयाँसहित रिक्सा चलाउँदै आएका खड्गबहादुर सत्याल र राजु घिमिरे पक्राउ परेका थिए।

साउन ३० गते दमकको आम्दा अस्पतालका कर्मचारीले सिदार्थ बैंकमा रकम जम्मा गर्न जाँदा चाङमा रहेको ग/२० ९२४४९० नम्बरको हजारको नोट नक्कली भेटियो। अस्पतालको काउन्टरमा जम्मा भएको रकम कसले दियो खुलेन।

भदौ ९ गते नवलपरासीको रजहरबाट एक हजार दरको १ लाख १२ हजार नक्कली नोटसहित शिवराम भट्ट पक्राउ परेका थिए। कात्तिक १४ गते गोरखाको काशीगाउँमा एक हजार दरको ६८ वटा नक्कली नोट फेला परेको थियो।

असार १५ गते काठमाडौंको गोपीकृष्ण हल र कोटेश्वरमा पनि नक्कली नोट सहित कारोवारी पक्राउ परेका थिए। चावहिलमा पासाङ सोनाम शेर्पा, मिङमार शेर्पा र अशोक राई पक्राउ परेका थिए। कोटेश्वरमा भारतीय नागरिक पक्राउ परेका थिए।

गत वर्ष पुसमा कलर प्रिन्टर प्रयोग गरेर नक्कली रुपैयाँ बनाएको अभियोगमा ललितपुरको थैवबाट भारतीय नागरिक जहाँगिर शेख पक्राउ परेका थिए। प्रहरीले उनको कोठावाट पाँच सय हजार दरको २ लाख ९२ हजार नक्कली नोट फेला पारेको थियो।
प्रारपम्भक अनुसन्धानमा पहाडी क्षेत्रमा फेला परेका रकम सोही समूहले फैलाएको देखिएको डिआइजी अर्यालले बताए।

‘जाली भारुको तुलनामा नक्कली नेपालीको कारोबार संगठित र बलियो देखिएको थिएन,’ उनले भने, ‘अब नेपाली नक्कली नोटको कारोबारलाई समेत गम्भीर अपराधको सूचीमा राखेर निरन्तर अनुसन्धान गर्न जरुरी छ।’

नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने फाट्टफुट्ट नक्कली नोट देखिए पनि गम्भीर अवस्थामा नपुगेको दाबी गरे।

‘हाम्रो नोटमा नक्कलै गर्न नसकिने १० भन्दा बढी सुरक्षण चिह्न छन्,’ उनले भने, ‘कारोबारका क्रममा सावधानी अपनाउने हो भने सामान्य नागरिकले पनि सक्कली र
नक्कली नोट तत्कालै खुट्याउन सक्छन्।’

नक्कली नोटको संख्या बढेपछि बैंकर्सलाई सचेत गराउने र नियन्त्रणका लागि प्रहरीसँग समन्वय गरिरहेको उनले जानकारी दिए।

केपी ढुंगाना,

काठमाडौं, मंसिर १२

प्रतिकृया लेख्नुहोस्

(अनिवार्य)

अभिलेख

ताजा ब्लगहरू

मेरो सिफारिस

ताजा प्रतिकृयाहरू

सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित
eXTReMe Tracker