हुस्सु दिमाग फुस्स बुद्धी

विहान ६ वजे उठेर आँखा च्यात्दै ल म्यानुअल पल्टाउन थालेको साँढे १० वजिसकेछ। करार कानुन। सजिलै थियो। त्यत्ति कठिन हैन। सुने जाने अनुसारकै। केही दफा र उपदफा दिमागमा कोच्न पाए ५० मा २५ टेकाउन त्यत्ति मुस्किल नपर्ने पक्का थियो। खाना खाइयो। ११ ले नेटो कोटछ। २९ गते परिक्षा दिएर प्रवेश पत्र पर्समा राखेको थिए। यसो चेक हानौन भनेर खोलियो। ज्या…….छैन त? दिमाग फन्फनीन थालीहाल्यो नी।
कतै व्यागमा पो राखेकी? हैन, त्यो दिन मैले व्यागै बोकेको थिइन। तैपनी चित्त बुझेन। पछि राखेको पनि त हुनसक्छ। खोतलखातल काम लागेन। रित्तो हात भयो। कतै त्यो दिन लगाएको पाइन्ट या सर्टको गोजीमा पो अड्कियो कि? धुई–धुई कोठा चर्हादा पनि फेला परेन खैरो पाइन्छ, छिर्केमिर्के सर्ट। हैन कता पो राखियो?
फोन गरे अर्धाङगीनीलाई। उत्तर आयो : मैले धोएको छु। किन खोजेको? अरु कपडा छैन र?

मेरो प्रवेश पत्र हरायो क्या? फेला पारेको हो?
उत्तर उत्साहजनक थिएन। घडी हेँरे ११: ३०। मिनभवनसम्म पुग्नै बाँकी थियो। १२ वजेवाट परिक्षा शुरु। डेढ घन्टाको मात्र थियो समय आज।
…………..
हुनत परिक्षामा समयमै पुगेको कहिले छ र? आज चौथो पत्रको परिक्षा थियो। पहिलो दिनको परिक्षा दिन आधा घन्टा ढिला पुगेको थिए। समस्या थियो परिक्षा केन्द्र फेला पार्ने।
गोर्खापत्रमा परिक्षा केन्द्र बानेश्वर क्याम्पस देखाएको थियो। त्यो खोज्दाखोज्दै १२ कटेको थियो। बल्ल बानेश्वर क्याम्पस पुगेको परिक्षा केन्द्र त त्यहाँ हैन रहेछ। भिनभवन हो भने एक मित्रले। हुत्तिदै सडकमा निस्किए। जाममा फसियो। परिक्षा केन्द्र पुग्दा १२: ३०। कोठा नम्बर ११ मा छिर्दा अरु सबै दनादन लेखिरहेका थिए।
………………
समाज तथा मानव शास्त्र र नेपाली विषयमा स्नातक गरेको आधा दर्जन वर्ष कटेपछी किन हो किन कानुन पढौन त भन्ने जाँगर चलेको। त्यो पनि वित्थामा हुने भयो झै लाग्यो। समाजशास्त्रमा स्नातकोत्तर गर्न मन लागेन। नेपाली विषय बोल्नका लागी मात्रै सहज, पढ्न त ढसढसै हुने। पेशा अनुसार पत्रकारीता पढौं भने सरकारी कलेजले नलिने। नीजितिर गयो डेढ लाख जति कट्ने रहेछ। पढाइको लगानी उठाउन विहान उठेर पिरियडको ५ सयको दरले गफ दिन हिडेमात्र सम्भव। पहिला कालोकोटधारी देख्दा खुव रहर लाग्थ्यो। त्यो रहर पुरा गर्न नभएपनी कानुन जाने फाइदैपुग्छ भनेर भर्ना भएको थिए नेपाल ल क्याम्पसमा। त्यो पनि फुस्सा हुने झै भयो।
………………….

याद आयो, हिजो पर्समा कोचिएको अनावश्य थुप्रो हटाएको थिए अफिसमा। रिपब्लीकाका सहकर्मी अर्पनले यत्रो पर्स नबोक ढाडमा समस्या ल्याउँछ भनेपछी खोतलखातल गरेर एक मुट्ठी कागज डस्टविनमा थन्क्याएको थिए।
कतै त्यसैमा मिसिएर त फालिएन?
१०० सिसिको हिरोहोन्डालाई सकेजति बटारेर लागे सुन्धारातिर।
कार्यालयको गेटैमा गार्डदाइ देखिए। सोधीहाले, दाई आजको डस्टवीन खाली भएको त छैन? उनले खै भयो होला पो भने। हतार हतार भित्र छिरेर हेरेको धन्न फाल्न भ्याएको रहेनछ।
तर, मिहेनत खेर गयो।
……………………….
उता मलाई भन्दा पनि अर्धाङगिनिलाई बढी छटपट थियो। ल पढ्न मेरो भन्दा पनि उनको पनि रहरले काम गरेको थियो। भर्ना गर्ने, परिक्षा फारम भरिदिने र बुझाउने सबै काम उनैवाट सम्पन्न भएको थियो।
मोवाइल बज्यो। उनकै थियो।
‘अंह फेला परेन, अफिसमा पनि’
एकै सासमा उत्तर दिए
‘ल, म क्याम्पसमा फोन गर्छुहै’ भन्दै फोन राखिन।
घडी हेरे। १२:१५
आज विहानको साँढे ४ घन्टाको मिहेनत स्वाहा।
……………..
क्याम्पस गए प्रवेश पत्र बन्छ रे भनेपछी हुत्तिदै पुगेपनी काम लागेन। एउटा फर्म भराएर बल्खु गएर बनाउन निर्देशन आयो।
‘विहानै आउनु भएको भए आजको परिक्षा दिने व्यवस्था मिलाउन सकिन्थ्यो नी, अब ढिलाइ भईसक्यो। भोली बल्खु गएर बनाएर परिक्षा दिनुस् है ‘ सुझाव आयो।

धत्, विहान कोठामा भौतारिन छाडेर, कार्यालय धाउन छाडेर के गर्ने भनेर क्याम्पसमा फोन गरेको भए आजको परिक्षा त छुट्ने रहेनछ नी?
क्या छ दिमाग पनि। आफ्नो काममा चल्दै नचल्ने।
भोली बल्खु जाने प्लान छ। अब त्यहाँ के के गर्नुपर्ने हो?
कानुनको नौ सिंङ हुन्छ जसले घुमाइरहन्छ भन्थे हो कि क्या हो? : )

1 response to "हुस्सु दिमाग फुस्स बुद्धी"

  1. M. L. Rana says:

    परिक्षाको समयमा यो ब्लग लेख्‍ने समयलाई पनि पढाईतिरै खर्चे राम्रो हुन्थ्यो कि। ब्लग त लेख्दै गरौंला नि !

प्रतिकृया लेख्नुहोस्

(अनिवार्य)

अभिलेख

ताजा ब्लगहरू

मेरो सिफारिस

ताजा प्रतिकृयाहरू

सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित
eXTReMe Tracker